18 September, 2013

Uncategorized
806
0
  • तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न छलफल
  • संविधान संशोधन गरेर संविधानसभा ६ सय १ नै बनाइयो
  • नेपालका मुख्य दश शक्तिशाली व्यक्तिमा प्रचण्ड पहिलो, ज्ञानेन्द्र पाँचौ
  • आज इन्द्रजात्रा मनाईंदैछ
  • मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने निर्णय
  • बुद्ध जन्मबारे भ्रम चिर्न कुटनीतिक पहल गछौं: अर्थमन्त्रीको दाबी
  • जिटिभीको विरोधमा बारामा प्रदर्शन
  • पोखरा–लुम्बिनी रुटमा पनि पर्यटक बस सञ्चालन हुने भएको छ
  • सुनचाँदीको भाउ घट्यो
  • च्याम्पियन्स लिगमा रियाल, म्यानयु र सिटीको जीत

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सहित, आयोगका अन्य पदाधिकारी बीच, आगामी मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको अर्को निर्वाचनका विषयमा केन्द्रित रहेर, आज बिहान छलफल भएको छ।  अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा, उनीहरुबीच निर्वाचनको तयारी र आवश्यक सुरक्षा प्रबन्धका बारेमा विस्तृतरुपमा छलफल भएको, अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए।    तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता प्रदानका साथै, निर्वाचन सम्बन्धी काम कारबाही र गतिविधिलाई तीव्रता प्रदान गरी अघि बढ्ने विषयमा समेत, उनीहरुबीच गम्भीर छलफल भएको थियो।  आयोगका आयुक्त डा रामभक्त पिभी ठाकुरले, निर्वाचनको तयारीका बारेमा आयोग र सरकारले शान्ति सुरक्षा, निर्वाचनको तयारी सहित, हालसम्म गरेको प्रगतिका बारेमा छलफल भएको जानकारी दिए। (Derived nagariknews.com)


दोश्रो संविधानसभा पनि ६ सय १ सदस्यीय नै हुने भएको छ ।  राष्ट्रपति डा. रामबरण यादवले, मंगलबार संविधानसभा ६ सय १ सदस्यीय हुने गरी, संविधानको बाधा अड्काउ फुकाउ आदेश संसोधन गर्नुभएको छ ।  यसअघि मुख्य दलहरुले, संविधानसभा ४ सय ९१ सदस्यीय बनाउने सहमति गरेका थिए । तर अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मोर्चाबीच भएको सहमति अनुसार, ६ सय एक सदस्यीय संविधान सभा बनाउने गरी, बाधा अड्काउ फुकाउ आदेश संसोधन गरिएको हो।  अब अघिल्लो संविधानसभामा जस्तै २ सय ४० प्रत्यक्ष, ३ सय ३५ समानुपातिक र २६ जना मन्त्रिपरिषदबाट मनोनित हुनेछन् ।  उच्च स्तरिय राजनीतिक समितिले गरेको आग्रह अनुसार, मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले बाधा अड्काउ फुकाउ आदेश संसोधन गर्नुभएको हो । मंगलबारदेखि यसअघिको प्राबधान खारेज भएको, राष्ट्रपति कार्यालयले जनाएको छ । (Derived nagariknews.com)


अनुसन्धनात्मक वेवसाइट GRG RANKINGले गरेको अध्ययन अनुसार, नेपालका मुख्य दश शक्तिशाली व्यक्तिको नाममा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा पर्नुभएको छ ।  अमेरिकाबाट सञ्चालित यो वेवसाइटले, नेपालका विभिन्न क्षेत्रको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । नेपालका दश शक्तिशाली व्यक्तिमा, राजनीतिज्ञ तथा व्यापारी परेका छन् ।  अनुसन्धान, विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनमा आएका समाचार, विचार तथा नागरिकको मतका आधारमा गरिएको हो । अनुसन्धान अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह,शक्तिशाली पाँचौं नम्बरमा पर्नुभएको छ ।  नेपालको मर्यादाक्रम अनुसार, पहिलो नम्बरमा रहेका राष्ट्रपति डा रामवरण यादव, चौथो नम्बरमा पर्नुभएको छ भने, कार्यकारी प्रमुख खिलराज रेग्मी तेस्रो नम्बरमा हुनुहुन्छ ।  यस्तै यो सूचिमा एकजना पनि महिला परेका छैनन् ।

१. पुष्पकमल दाहाल प्रचण्ड – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालका सबैभन्दा शक्तिशाली व्यक्तिको पहिलो नम्बरमा हुनुहुन्छ । सर्वेक्षणका अनुसार, नागरिकको आशा, सामाजिक क्षेत्रको चर्चा र समाचारमा आएका विश्लेषण अनुसार, नेपालका सबैभन्दा शक्तिशाली व्यक्ति प्रचण्ड हुनुहुन्छ ।

२. डा बाबुराम भट्टराई – शक्तिशाली व्यक्तिको सूचीको दोस्रो नम्बरमा पनि, एकीकृत नेकपा माओवादीका नेता नै परेका छन् ।  माओवादी पूर्वउपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, दोस्रो नम्बरमा हुनुहुन्छ । भट्टराईलाई आन्तरिक तथा वाह्य क्षेत्रमा, आशा गरिएका र चर्चा पाएका व्यक्तिका रुपमा हेरिएको छ ।

३. खिलराज रेग्मी – कार्यकारी हिसाबले, नेपालको पहिलो हुनुपर्ने मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, नेपालको तेस्रो शक्तिशाली व्यक्तिमा दरिनु भएको छ । रेग्मी मन्त्रिपरिषद् अध्यक्ष भएपछि, एकाएक चर्चामा आउनुभएको थियो । ६४ वर्षीय रेग्मी प्रधानन्यायाधीश समेत हुनुहुन्छ ।

४. डा रामवरण यादव – नेपालका राष्ट्रप्रमुख समेत रहेका राष्ट्रपति डाक्टर रामवरण यादव, शक्तिशाली व्यक्तिको चौथो नम्बरमा हुनुहुन्छ । ६५ वर्षीय यादव २०६५ सालमा, नेपालको राष्ट्रपति बन्नुभएको थियो । उहाँ नेपालका राष्ट्रप्रमुख समेत हुनुहुन्छ ।  बिपी कोइरालाका निजी चिकित्सकका रुपमा लामो समय काम गरेका यादव, नेपाली काँग्रेसबाट राजनीतिक जीवन सुरु गर्नुभएको थियो ।

५. ज्ञानेन्द्र शाह – पूर्वराजा ज्ञानेन्द्र शाह, शक्तिशाली व्यक्तिको सूचिमा पाँचौ नम्बरमा हुनुहुन्छ । पूर्वराजा शाहले, पछिल्लो समय सामाजिक तथा धार्मिक गतिविधि मार्फत चर्चा पाउने गर्नुभएको छ । ६६ वर्षीय शाह, राजतन्त्रको अन्त्यपछि राजनीतिमा खासै सक्रिय हुनुहुन्न ।

६. सुशील कोइराला – नेपाली काँग्रेसका सभापति सुशील कोइराला, शक्तिशाली व्यक्तीको सूचिमा छैटौं नम्बरमा हुनुहुन्छ ।  ७४ वर्षीय कोइरालाले, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सहयोगीका रुपमा, राजनीतिक जीवन सुरु गर्नुभएको हो । उहाँ नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभयो ।

७. झलनाथ खनाल – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपालको शक्तिशाली व्यक्तिको सातौं नम्बरमा पर्नुभएको छ । ६३ वर्षीय खनाल, संविधानसभा चुनावमा ईलामबाट निर्वाचित हुनुभएको थियो भने. एमाले अध्यक्षमा बुटवल महाधिवेशनले निर्वाचित गरेको थियो ।

८. उपेन्द्र यादव – शक्तिशाली व्यक्तिमा, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, आठौं नम्बरमा पर्नुभएको छ ।  मधेस आन्दोलनपछि, एकाएक चर्चामा आएका यादव, नेपालका उपप्रधानमन्त्री समेत भैसक्नुभएको थियो ।  मधेस आन्दोलनपछि पनि उहाँ, आफ्नो विचारमा अडिग रहने नेतामा पर्नुहुन्छ ।

९. उपेन्द्र महतो – रसियामा व्यापार गरेर चर्चामा आएका उपेन्द्र महतो, नेपालका नवौं शक्तिशाली व्यक्ति हुनुहुन्छ । गैरआवाशीय नेपाली संघ NRNका पूर्वअध्यक्ष समेत रहेका महतोले, सामाजिक क्षेत्रमा काम गर्नुभएको छ ।  NRNका अध्यक्ष भएपछि, उहाँको चर्चा सुरु भएको हो ।

१०. विनोद चौधरी – शक्तिशाली दशौं नम्बरमा, नेपालका चर्चित उद्योगपति विनोद चौधरी पर्नुभएको छ । पछिल्लो समय नेकपा एमालेबाट चुनाव लड्ने तयारी गरेका चौधरीसँग, एक बिलियन US DOLLOR सम्पत्ति रहेको अनुमान गरिएको छ । ५७ औं वर्षीय चौधरी, धनी व्यक्तिको रुपमा चिनिनुहुन्छ । (Derived ujyaloonline.com)


वर्षा र सहकालका देवता; इन्द्रको पूजा–आराधना गरी, आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ ।  काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा, विशेष उत्साहका साथ यो पर्व मनाइन्छ ।  सोमबार, भाद्र शुक्ल द्वादशीका दिन, हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि, यो जात्रा सुरु भएको हो । आज मुख्य रुपमा मनाइने इन्द्रजात्रामा, हनुमानढोकामा जीवित देवीका रुपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ ।  आज हुने रथयात्रामा, राष्ट्रपति लगायत सहभागी हुने कार्यक्रम छ । इन्द्रजात्राको अवसरमा, आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ ।(Derived ujyaloonline.com)


नेपाल विद्यार्थी मञ्चको कार्यालयमा मंगलबार  १७ विद्यार्थी संगठनको संयुक्त बैठक बसी सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन दबाबका लागि कडा आन्दोलन गर्ने निर्णय गरेको छ।  विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संघर्षका ५ बुँदे कार्यक्रमसहित आन्दोलन गर्ने निर्णय गरेको छ। जसअनुसार सरकारले जनताको ढाड सेकिने गरी गरेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिनुपर्ने, सरकारले असोज २ भित्र मूल्यवृद्धि फिर्ता नलिए असोज ३ मा नेपाल आयल निगमका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक  लगाउने बैठकले निर्णय गरेको छ।   यसैगरी आन्दोलनलाई प्रभावकारी बनाउन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध असोज ४ मा सरोकारवाला पक्षसँग अन्तर्क्रिया गरी, आन्दोलनका थप कार्यक्रम गर्ने, संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।   यातायात व्यवसायी र विद्यार्थी संगठनबीच भएको सहमति अनुसार, विद्यार्थीले यातायातमा पाउनुपर्ने ४५ प्रतिशत छुट, कडाइसाथ कार्यान्वयन गराउन, सरकारसँग जोडदार माग गर्ने समेत, बैठकले निर्णय गरेको छ।  पूर्वाञ्चल लगायत अन्य विश्वविद्यालयको पठनपाठनलाई अविलम्ब सुचारु गराउन, व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने निर्णयसमेत बैठकमा भएको छ। (Derived nagariknews.com)


यस्तै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले, गौतम बुद्ध भारतमा जन्मिएको भन्दै, भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम निवारण गर्न, कुटनीतिक पहल थाल्ने बताउनुभएको छ ।  बेल्जियममा रहेका अर्थमन्त्री कोइरालाले, सरकारले भ्रम निवारणका लागि कुटनीतिक पहल थाल्ने बताउनुभएको हो ।  बेल्जियममा रहेका नेपाली तथा लुम्बिनी कपिलबस्तु दिवस अभियानका पदाधिकारीले, भारतीय सञ्चारमाध्यमले जथाभावी सामाग्री प्रसारण गरेर, बुद्धको जन्म भारतमा भएको सम्बन्धि भ्रम फैलाइरहेकाले, सरकारी स्तरबाट पहल गर्न अर्थमन्त्रीलाई आग्रह गरेका थिए । (Derived ujyaloonline.com)


भारतीय टिभि च्यानल जिटिभीको विरोधमा,  बाराको कलैयामा प्रदर्शन भएको छ ।  जिटिभीले गौतम बुद्ध भारतमा जन्मिएको भनि भ्रामक प्रचार गरेको भन्दै, कलैयामा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका विद्यार्थी र शिक्षकहरुले विरोध प्रदर्शन गरेका हुन् ।  स्कूल परिसरबाट निस्किएको जुलुशले. कलैया नगर परिक्रमा गरी, पुनः स्कूलमै पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिहरुले ‘हाम्रो देश हाम्रो बुद्ध’ लेखिएको प्लेकार्ड बोकेका थिए ।(Derived ujyaloonline.com)

पोखरा–लुम्बिनी रुटमा, सिधा पर्यटक बस सञ्चालन हुने भएको छ। पोखराको माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सले, विश्व पर्यटन दिवसको अवसर पारेर, सेप्टेम्बर २७ देखि यो रुटमा सुविधासम्पन्न बस चलाउन लागेको हो।  लामो समयदेखि पोखरा–लुम्बिनी रुटमा पर्यटक बस सञ्चालन प्रयास गरिरहेका पर्यटन व्यवसायीले, यो सेवा सञ्चालनसँगै आन्तरिक तथा बाह्य पर्यटक आउजाउ सहज हुने बताएका छन्।  यसअघिका प्रयास, सिन्डिकेट लादेका अन्य व्यवसायीको कारण असफल भए पनि, यो पटक जुनसुकै हालतमा सञ्चालन गरिछाड्ने, व्यवसायीको अठोट छ। आन्तरिक तथा बाह्य पर्यटक लक्षित सुविधासम्पन्न बस सञ्चालन गर्न लागेको, कम्पनीले जनाएको छ।   ट्राभल्सका एक सञ्चालक गणेशबहादुर भट्टराईका अनुसार, हरेक दिन बिहान पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कबाट लुम्बिनीका लागि र लुम्बिनीबाट पोखराका लागि बस छुट्नेछ।  ‘पोखरा–लुम्बिनी–पोखरा रुटमा, दैनिक दुईवटा बस चलाउने निर्णय गरेका छौं,’ मंगलबार आयोजित पत्रकार भेटघाटमा, उनले भने, ‘यो सुविधाले पोखरा–लुम्बिनी–पोखरा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुनेछ।’   उक्त रुटमा सुविधासम्पन्न पर्यटक बस नहुँदा, अहिले एक ठाउँमा आएका पर्यटकले, अर्को सहर जाँदा सास्ती खेप्नुपरेको ।  दैनिक रुपमा सञ्चालन हुने बस  पोखराबाट चितवन हुँदै लुम्बिनी पुग्नेछ।(Derived nagariknews.com)

दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ।  सोमबार र मंगलबार दुई दिन, तोलामा ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज भने, ८ सय रुपैंया घटेर ५४ हजार ३ सय रुपैंयामा झरेको, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै चाँदी पनि तोलामा १५ रुपैंया घटेर, आज ९ सय २० रुपैंयामा किनबेच भएको छ ।(Derived ujyaloonline.com)

च्याम्पियन्स लिग फुटबल अन्तर्गत हिजो राती भएको खेलमा, रियाल म्याड्रिड, म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी बिजयी भएका छन् ।  स्पेनिश क्लब म्याड्रिडले टर्किस क्लब गालाटासारेलाई, १ का विरुद्ध ६ गोलले हरायो ।  म्याड्रिडको फराकिलो जीतमा, क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यस्तै करिम बेन्जेमाले दुई र इस्कोले १ गोल गरे ।  गालाटासारेका लागि सान्त्वना गोल, उमुट बुलुटले फर्काए । यस्तै अर्को खेलमा, इंग्लिश क्लब म्यानयुले, जर्मन क्लब बायेर लेभेरकुसेनलाई ४–२ ले हरायो । म्यानयुको जीतमा, वायने रुनीले २ गोल गरे ।  यो जीतसँगै म्यानयुका लागि रुनीले आफ्नो २ सयौँ गोल पूरा गरे । टिमको जीतमा, बाँकी दुई गोल रोबिन भान पर्सी र एन्टोनियो भ्यालेन्सियाले गरे । यस्तै म्यानचेष्टर सिटीले, चेक क्लब भिक्टोरिया प्लाजेनलाई ३ शून्यले हरायो । सिटीलाई जिताउन इडिन जेको, याया टोरे र सर्जियो अगुएरोले एक-एक गोल गरे ।(Derived ujyaloonline.com)

बैदेशिक विनिमय दर
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar 1 100.69 101.29
Euro 1 134.50 135.30
UK pound sterling 1 160.11 161.07
Swiss franc 1 108.78 109.43
Australian dollar 1 93.91 94.47
Canadian dollar 1 97.57 98.15
Singapore dollar 1 79.79 80.26
Japanese yen 10 10.15 10.21
Chinese Yuan 1 16.45 16.55
Thai baht 1 3.17 3.19
UAE Dirham 1 27.41 27.58
Only Buying rates
Currency Unit Rates/Rs.
Hong Kong dollar 1 12.99

Facebook Comments

POST A COMMENT.